दफा १३
कर्मचारी हाजिर हुनुपर्ने

(१) यस ऐन बमोजिम समायोजन भएका कर्मचारी बाटोको म्याद बाहेक एक्काइस दिनभित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिवार्य रुपमा हाजिर हुनु पर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समायोजन हुँदाका बखत देहायको अवस्थामा रहेको कर्मचारीले देहायको अवधि समाप्त भएको पैंतीस दिनभित्र समायोजन भएको पदमा हाजिर हुनु पर्नेछ:-

(क)   प्रसूति बिदा वा प्रसूति स्याहार बिदामा बसेको कर्मचारीले त्यस्तो बिदा समाप्त भएको,

(ख)   किरिया बिदामा बसेको कर्मचारीले त्यस्तो बिदा समाप्त भएको,

(ग)   निलम्बनमा रहेको कर्मचारीले त्यस्तो निलम्बन समाप्त भएको,

(घ)   असाधारण वा अध्ययन बिदामा बसेको कर्मचारीले त्यस्तो बिदा समाप्त भएको,

(ङ)   बिरामी परी अस्पताल भर्ना भएको कर्मचारीले अस्पतालबाट डिस्चार्ज भएको।

(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) वा (२) बमोजिमको अवधिभित्र हाजिर नहुने कर्मचारीलाई प्रचलित कानून बमोजिमको विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सेवाबाट अवकाश दिनेछ।

(४) उपदफा (३) बमोजिम कर्मचारीलाई सेवाबाट अवकाश दिनुपूर्व प्रचलित कानून बमोजिम सफाइ र स्पष्टीकरण पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

(५) उपदफा (३) बमोजिम कर्मचारीलाई सेवाबाट अवकाश दिने विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ।

(६) उपदफा (३) बमोजिम अवकाश पाएको कर्मचारीले प्रचलित कानून बमोजिमको सुविधा पाउनेछ।

(७) सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले यस ऐन बमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्नेछ।

(८) उपदफा (७) बमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।